वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

महामारी पूरै नियन्त्रणमा आउन केही महिना लाग्न सक्छ-डा.अधिकारी

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
महामारी पूरै नियन्त्रणमा आउन केही महिना लाग्न सक्छ-डा.अधिकारी

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले नेपाललाई पनि नराम्रोसँग प्रभावित बनाएको छ । कोभिड नियन्त्रणका लागि निषेधाज्ञा लगाएको पनि दुई हप्ता बितिसकेको छ ।

यो अवस्थामा कोरोना संक्रमण झन् फैलिएको छ । हामी फेरि सामान्य अवस्थामा कहिलेसम्म फर्कन सक्छौँ त रु यी विषयमा ग्रयाण्डी अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारीसँग गरेको कुराकानी

अरु जनस्वास्थ्यविद्हरुले अहिलेको यो कोभिडको अवस्था क्रमशः घट्दै जाने बताइरहनुभएको छ, के यो साँच्चिकै हो ?

हो , अहिलेको यो दोस्रो चरणको महामारी दुईदेखि तीन हप्तामा चाहिँ केही कम हुदै जानेछ । पूरै महामारी नियन्त्रणमा आउन चाहिँ केही महिना अझै लाग्न सक्छ । पहिलो चरणको जस्तो कोरोना साउन महिनाको अवस्थासम्म आइपुग्दा भाइरस केही शिथिल हुँदै जान्छ तर पहिलेको तुलनामा यो तीन गुणा शक्तिशाली नै रहन्छ ।

वर्तमान समयमा के के कुरामा ध्यान दिनु आवश्यक छ ?

मुख्यतया तत्काल हामी चार वटा कुरामा केन्द्रित हुने बेला आएको छ । पहिलो भनेको तुरुन्त स्वास्थ्य संकटकाल लागु गर्नुपर्दछ । दास्रो चाहिँ हामीले सीसीएमसीका सदस्य र स्वास्थ्यमन्त्रीलाई सँगै राखेर निर्णय प्रक्रिया गर्नुपर्दछ ।

विशेषज्ञको सुझावसहित स्वास्थ्य मन्त्रालयले नीति बनाउने र त्यसलाई सीसीएमसीले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्दछ । तेस्रो चाहिँ नेपाली सेना परिचालन गर्नुपर्दछ ।

किनभने कतै शैयाहरु खाली रहेछ, कतै अक्सिजन प्लाण्ट निर्माण गर्नुपर्ने भयो, कतै सुरक्षा दिनुपर्ने भयो भने सबै स्वास्थ्य मन्त्रालयले सक्दैन त्यसैले यसको जिम्मा चाहिँ सेनालाई दिनुपर्दछ ।

यसलाई युद्धकै हिसावमा लिनुपर्दछ । चौथो चाहिँ हामीले विदेशी सहयोग माग्नैपर्छ, पछि ढिला भैसक्छ । अरु देशमा अक्सिजन प्लाण्ट निर्माण जस्ता कुराहरु यूनिसेफ, डब्लूएचओले जिम्मा लिएका छन् हाम्रो देशमा यस्तो हुन सकिरहेको छैन ।

आईएनजिओहरुले पनि खासै पहल नगरेको अवस्था छ । उनीहरुलाई कुन कुरा सहयोग गर्ने भन्ने कुरा नै थाहा नभएजस्तो देखिएको छ । यी चारवटा कुरामा तत्काल ध्यान पुर्याउन सकिएन भने अवस्था थप जटिल बन्न सक्छ ।

यो निषेधाज्ञाको समयमा सरकारले के कस्ता थप कुरामा ध्यान पुर्याउन सक्यो भने कोभिड चाँडै नियन्त्रणमा आउन सक्छ ?

निषेधाज्ञा लगाउने बित्तिकै रोग नियन्त्रणमा आउँछ नै भन्ने चाहिँ होइन। स्वास्थ्य संकट कम गर्ने हिसाबमा यसलाई लिनुपर्दछ । यो अवस्थामा अक्सिजन, शैया, औषधि, भेन्टिलेटर र डक्टर, नर्सहरुलाई ट्रेनिङको व्यवस्था मिलाउनुपर्दछ ।

परीक्षणको दायरा पनि बढाउँदै लैजानुपर्दछ । आइसोलेसनमा बसेकाहरुलाई बाहिर निस्कन नदिन जनचेतना अभिवृद्धि गर्नुपर्छ । अहिले खोप दिन मिल्ने अवस्था भए स्थानीय सरकारसँग मिलेर घरघरमा पुगेर खोप दिने व्यवस्था मिलाउनुपर्दछ ।

योसँगै अर्थतन्त्रमा पनि गिरावट आउँछ । अर्थतन्त्र कमजोर हुँदै गए अझ धेरै मान्छे मर्न सक्छन् त्यसैले अर्थविद्हरुसँग यस बारे छलफल पनि गर्नुपर्दछ । दैनिक ज्याला मजदुरी गरेर खाने मान्छेहरुलाई पनि खानाको व्यवस्था गरिदिनु आवश्यक छ । सबै किसिमका विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्न आवश्यक छ ।

कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहर कत्तिको जोखिम छ ?

अहिलेको भाइरस ६० देखि ९० प्रतिशत चाँडै फैलिन्छ । अहिलेको भाइरस जुनसुकै उमेर समूहका लागि पनि खतरा देखिएको छ । त्यसैले सचेतना अपनाउनु जरुरी छ ।

कोभिडको महामारी नियन्त्रणका लागि चिकित्सक, अस्पताल र बिरामी स्वयंको आफ्नो क्षेत्रबाट खेल्नुपर्ने भूमिका कस्तो हुनुपर्छ रु

सबैभन्दा पहिला त म बिरामीलाई भन्न चाहन्छु । अहिले रुघाखोकी लाग्ने समय पनि होइन त्यसैले तपाईंलाई सामान्य रुघाखोकी लागेको भए पनि त्यो कोभिड हुनसक्छ ।

सक्नुहुन्छ परीक्षण गराउनुहोस् यदि परीक्षण नगराए पनि २ हप्ता चाहिँ आइसोलेसनमा बसिहाल्नुस् त्यसले अरुलाई नसरोस् । घरमा धेरै जनालाई एउटै लक्षण देखिए एक, दुई जनालाई परीक्षण गराउनुहोस कोभिड छ कि छैन थाहा हुन्छ ।

आफूलाई कोभिडको शंका हुनेबित्तिकै आफूसँग सम्पर्कमा आएकालाई पनि सूचना दिनुहोस र आइलोलेसनमा बस्नका लागि आग्रह गनुहोस् यसो गर्दा संक्रमण फैलिने सम्भावना न्यून हुन्छ ।

यसलाई हामी क्लिनिकल टेस्ट भन्छौँ । सरकारले जारी गरेका नियमहरु पालना गर्ने, एकअर्काका लक्षणहरु अनुगमन गरिरहने र आफ्नो सुरक्षामा ध्यान दिने गर्नुपर्दछ । चिकित्सकको हकमा भन्नुपर्दा अहिले उहाँहरु फ्रन्ट लाइनमा रहेर काम गरिरहनुभएको छ ।

उहाँहरुले विशेष गरी बिरामीको मनोबल वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्दछ । नेपाल मेडिकल काउन्सिलबाट जारी भएका नयाँ नियमहरुलाई पालना गर्नुपर्दछ ।

अस्पतालको हकमा चाहिँ सरकारी वा गैरसरकारी कुनै पनि अस्पतालले म बिरामी लिन्न भन्न पाउने छुट छैन । म कोभिडको बिरामी हेर्दिनँ भन्ने अवस्था छैन । अहिले जो पनि कोभिडको बिरामी हुनसक्छ त्यसैले अस्पतालका सामान्य शैयाहरु पनि कोभिडका लागि छुट्याउनुपर्दछ ।

अक्सिजनको संकट निम्तिँदै छ भन्ने लागेपछि पहिले नै खबर गर्ने , अक्सिजन प्लाण्टहरु बिग्रदै छ भने पहिले नै खबर गर्ने गर्नुपर्दछ ।अ हिले आरोप प्रत्यारोपभन्दा पनि सबै मिलेर जुट्नुपर्दछ ।

आइसोलेसनमा बसेका बिरामीहरुले कस्ता कस्ता कुरामा ध्यान दिनुपर्दछ ?

आइसोलेसनमा बसेका बिरामीको कोठाको दुवैतर्फ भेन्टिलेसन हुनुपर्दछ । शौचालय पनि छुट्टै हुँदा राम्रो हुन्छ । परिवारका सदस्यहरुसँग सकभर नभेट्ने र भेट्नैपर्ने भए ६ फिटको दूरी कायम गर्ने, हरहमेसा मास्कको प्रयोग गर्ने गर्नुपर्दछ ।

दिनमा ४,५ चोटि पल्स अक्सिमिटरले मनिटर गर्ने । खोकी लागेको भए पहिलेभन्दा बढी भएको छ कि छैन त्यो ख्याल गर्ने । खोक्दा र लामो सास लिँदा छाती दुखे नदुखेको ख्याल गर्ने र पल्स अक्सिमिटरले अक्सिजनको मात्रा नाप्दा ९४ भन्दा तल भए घोप्टो परेर सुत्ने र तुरुन्त डाक्टरको सल्लाह लिने तथा अस्पताल नै जानुपर्दछ ।

यो अवधिमा सरकारले गरेका प्रयासहरुलाई तपाईंले कसरी लिनुभएको छ रु अझै के कस्ता कुरामा ध्यान दिनु आवश्यक छ ?

साँच्चिकै भन्नुपर्दा सरकार जुन हिसाबमा कोभिडको नियन्त्रणमा केन्द्रित हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन । जस्तै अहिले देशमा महामारी फैलिरहँदा राजनीतिक दाउपेच नै भैरहेको छ ।

अहिले यो सबै बन्द गरेर सर्वदलीय सहमतिअनुसार एउटा संगठन बनाएर शतप्रतिशत कोभिड १९ नियन्त्रणमा केन्द्रित हुनुपर्दथ्यो त्यो हुन सकिरहेको छैन । त्यो नभैसकेपछि नीति बनाउने, बजेट छुट्याउने कुरा खासै प्रभावकारी बन्दैन ।

यो भाइरस संक्रमण चार दिनमा दोब्बर भैसक्छ त्यसैले अर्को हप्ता निर्णय गरौँला भन्दा संक्रमण दर चार गुणा भैसकेको हुन्छ त्यसैले राजनीतिक नेतृत्वकर्ताले यसलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

दैनिक रुपमा सरकारले स्वास्थ्यक्षेत्रसँग सम्बन्धित व्यक्तिहरु र स्वास्थ्य विशेषज्ञहरुसँग परामर्श गरिरहनुपर्छ र सुझावहरु अनुसरण गर्नुपर्दछ । अहिले राजनीतिक विरोध एकातिर राखेर जनतालाई रोग नियन्त्रणको आभाष दिलाउनुपर्दछ ।

अहिलेको आवश्यकता भनेको जहाँजहाँ संक्रमण निकै फैलिएको छ त्यहाँत्यहाँ अक्सिजन प्लाण्ट निर्माण, शैयाहरु निर्माण गर्नु जरुरी छ त्यसैले यसतर्फ ध्यान दिनु आवश्यक छ ।

स्थानीय सरकारसँग संघीय सरकारले लागु गरेका निर्णयहरु पूरा गर्ने सामथ्र्य नै छैन त्यसैले स्थानीय सरकारलाई मानव संसाधनको सपोर्ट दिनुपर्छ । सरकारले गठन गरेको सिसिएमसिलाई थप सक्रिय बनाउनुपर्दछ ।