वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

कोरोनासँगै कालोढुसीको आँखामा सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
कोरोनासँगै कालोढुसीको आँखामा सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ

नयाँ भेरियन्टको कोरोनाभाइरस कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिन पहिले नेपालमा पनि फाट्टफुट्ट न्यूकोर्माइकोसिस देखिएको बताउँछन ।

काठमाडौं र सीमावर्ती शहर वीरगञ्जका कोरोना सङ्क्रमित बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ । छिमेकी मुलुक भारतका विभिन्न शहरका कोभिड बिरामीमा त्यो सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो ।

न्यूकोर्माइकोसिस कस्तो रोग हो ?  यसले आँखामा कस्तो असर गर्छ ?  र यो रोगका कारण आँखा नै गुम्न सक्ने सम्भावना कति छ ? भन्ने विषयको सेरोफेरोमा रहेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश

कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने न्यूकोर्माइकोसिस अर्थात् कालो ढुसी देखिने समस्या शुरु भएको छ । यो कस्तो प्रकारको रोग हो ?

यो कालो ढुसी कोरोनाले भन्दा पनि फङ्गल इनफेक्सन हो । यो माटो, कुहिएको फलफुल, बोटबिरुवामा पाइन्छन् । खासमा यो बोटबिरुवाबाट आउने ढुसी हो । तर, अहिले कोरोना बिरामी देखिन थालेको छ ।

भारतमा सङ्क्रमित बिरामीमा देखा पर्यो भन्ने छ । कोरोना सङ्क्रमित बिरामीको आँखा रातो हुने, पाक्ने, पोल्ने, आँखाबाट रगत जस्तो रातो पानी बग्ने गर्छ ।

दीर्घरोगी, उच्च रक्तचाप, मधुमेह र मृगौला लगायतका बिरामी जसलाई कोरोना सङ्क्रमण समेत भएको छ त्यस्तै व्यक्तिलाई यो इनफेक्सन हुने सम्भावना बढी छ । एन्टी फङ्गल स्टेरोइड औषधि लामो समयदेखि खानेहरुमा म्यूकोर्माइकोसिसको समस्या देखिएको हो ।

कडा खालको औषधि प्रयोग गर्ने व्यक्तिहरुमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसका कारण आँखामा न्यूकोर्माइकोसिस हुने सम्भावना देखापर्छ । कोरोनाकै कारणले मात्र देखिएको होइन ।

यसको असर कस्तो हुन्छ ?

यो आाँखा पाक्ने रोग नै हो । क्याटेरिया, भाइरल र फङ्गल तीन प्रकारले आँखा पाक्ने, रातो हुने गर्छ । अहिले आँखा अलि बढी रातो हुने र अर्को आँखाबाट रगत जस्तो पानी बग्ने देखिएको छ ।

साथै आँखा सुन्निने, दुख्ने, परेला लत्रने, आँखा धमिलो हुने समस्या पनि देखिएको छ । नेपालमा केही केसहरुमा देखियो भनिएको छ । तर, हामीले यसको परीक्षण गरेर प्रमाणित गर्न पाएका छैन ।

यो रोगका कारण आँखा नै गुम्न सक्छ भनिएको छ नि ?

फङ्गल इफेक्सनको राम्रो उपचार गर्नुपर्छ । यसमा कालाजारमा प्रयोग गर्ने औषधि अलि प्रभावकारी देखिएको छ । त्यो औषधि तत्काल उपलब्ध छैन । अहिले पहिला प्रयोग गरिएका पुराना औषधि चलाइरहेका छौ ।

यसलाई नियन्त्रण गर्न थप औषधि समयमै उपलब्ध गराउनुपर्छ । फङ्गल इनफेक्सनको राम्रो उपचार भएन, हेरचाह भएन भने आँखा पाक्ने आँखाको नानीमा घाउ हुने, आँखामा सेता दागहरु देखापर्ने, आँखाको दृष्टि कमजोर हुँदै जाने र अन्त्यम आँखा नै गुम्न सक्ने हुन्छ ।

त्यसोभए यो घातक नै छ ?

फङ्गल इनफेक्सन भएको आँखाको राम्रो उपचार भएन भने दृष्टि गुम्न नै सक्छ । उपचार पाएन हेरचाह भएन भने यसले दृष्टि कम हुँदै जान्छ । यसलाई लापरबाही गर्न मिल्दै । यसको लागि राम्रो उपचारको व्यवस्था गर्नु अति आवश्यक छ ।

धेरै जोखिम कसलाई हुन्छ ?

अहिले कोभिड–१९ का बिरामीको उपचारका क्रममा स्टेरोइडको अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको समस्या देखिएको छ । यो एन्टी–फङ्गल औषधि खानेहरूमा म्यूकोर्माइकोसिसको समस्या देखिन्छ । मधुमेहका रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा यो समस्या बढी हुन्छ ।

यसको लक्षण के–के हुन् ?

आँखा पाक्ने, आँशु बग्ने, रगत जस्तो रातो पानी बग्ने, घाममा हिँड्न गाह्रो हुने, दुख्ने–बिझाउने–चिलाउने, आँखाको नानीमा घाउ हुने र दृष्टि मधुरो हुने लक्षण देखापर्छ ।

यो इन्फेक्सन के कारणले हुन्छ ?

घास, दाउरा गर्दा, खेतीपातीको समयमा खासमा रुख बिरुवाबाट फङ्गल इन्फेक्सन हुन्छ । कोरोनाकै कारण फङ्गल इन्फेक्सन भएको होइन । बिरामीहरु रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका कारण अस्वभाविक रुपमा यो इनफेक्सन देखिएको हो ।

यसबाट कसरी बच्न सकिन्छ ?

यसबाट बच्न आँखाको सरसफाइमा बढी ध्यान दिनुपर्छ । पटक–पटक चिसो पानीले आँखा पखाल्नु पर्छ, अहिले आँखाको लागि उपलब्ध औषधिको प्रयोग गर्नुपर्छ ।

साथै सरकारले यो रोगको लागि प्रयोग हुने औषधि यथासिघ्र उपलब्ध गराउन तर्फ ध्यान दिनुपर्छ । यदि सङ्क्रमित बिरामीमा इनफेक्सन भएको छ भने सरसफाइमा ध्यान दिनेका साथै अरुलाई नसरोस् भन्नेमा सचेत हुनुपर्छ ।

यो सरुवा रोग हो ?

यो सरुवा रोग हो । एउटा आँखाको माध्यमबाट अर्को आँखामा सर्ने गर्छ । अहिले के भनिएको छ भने, कोरोनाभाइरस आँखाको आँशु र आँखाबाट बग्ने पानीको माध्यमबाट पनि अर्को व्यक्तिमा सर्न सक्छ । आँखाबाट पनि कोरोना सर्न सक्छ ।

यसमा ध्यान दिनुपर्ने कुरा के हो ?

रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कोभिड भएर घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्नु हुँदैन । चिकित्सकको परामर्शबिना प्रयोग गर्नु हुँदैन

त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मृगौला रोगी यसबारे बुझ्नु पर्छ । कालो ढुसीबाट सङ्क्रमितको उपचारमा ’एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गरिन्छ । यो कालाजारमा प्रयोग गर्ने औषधि हुन् ।