निहारिकाको जीवन रक्षाको माग

निहारिकाको जीवन रक्षाको माग

काठमाडौ, महोत्तरी जलेश्वरकी निहारिका राजपुत चार दिनदेखि न्यायका लागि बसन्तपुरमा आमरण अनशनमा छिन्।

‘बलात्कृत आमा’ निहारिका २१ महिनाको दुधे बालक सहित अनशनमा छिन्। उनले आफू १७ वर्षकी हुँदा जनकपुर शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

बलात्कार पश्चात गर्भवती भएकी निहारिका त्यसयता न्यायको लडाइँमा छिन्।

न्यायका लागि अनशन बसेकी निहारिकाका पक्षमा बिस्तारै सामाजिक सञ्जाल भरिन थालेका छन्। यसै क्रममा कांग्रेस नेतृ डा. डीला संग्रौलाले निहारिकाले न्याय पाउनु पर्ने बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा संग्रौलाले निहारिकाको मुद्दामाथि पुनः अनुसन्धान थाल्न प्रहरी प्रशासनलाई आग्रह गरेकी छिन्।

संग्रौला लेख्छिन्,  बसन्तपुरमा आमरण अनशनमा रहेकी निहारिकाले १७ वर्षकी हुँदा बलात्कृत भएको र आफूले अझै न्याय नपाएको जिकिर गरिरहेकी छिन्।’

उनको मुद्दा सम्मानित उच्च अदालतमा विचाराधीन छ। भनिन्छ न्याय ढिलो हुनु भनेको न्याय नपाउनु हो। म प्रहरी प्रशासनलाई यो प्रकरणबारे फेरि अनुसन्धान थाल्न, न्यायालयलाई छिटो र सही न्याय दिन र बालक तथा आमाको गास,वास,कपासको उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्दछु।’

संविधानमा सबै नागरिकले सम्मानित जीवन बाँच्न पाउने हक दिएको भन्दै संग्रौलाले निहारिका र उनको बच्चाले पनि बाँच्न पाउनु पर्ने बताएकी छिन्। निहारिकाको न्यायका लागि महिला अधिकारकर्मी मोहना अन्सारी लगायतले पनि सामाजिक सञ्जालमा आवाज उठाएका छन्।

निहारिकाले न्याय प्राप्तिको लडाइँमा आफूलाई महिला आयोगले पनि असहयोग गरेको बताउँदै आएकी थिइन। यसैक्रममा आइतबार राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगले ऐक्यबद्धता जनाएका छन्।

महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले अनशन स्थलमा पुगेर निहारिकाको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

अनशनस्थल पुगेर महिला आयोगकी अध्यक्ष पराजुलीले निहारिकाको माग अनुसार घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति सहितको न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

उनले अनशनरत निहारिका र उनका छोराको बच्चाको स्वास्थ्य, सुरक्षा र जीवन रक्षाको लागि जतिसक्दो चाँडो पहल गर्न सरकारसँग माग गरेकी छिन्।