बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

अग्रपंक्तिमा खटिएकाहरु भन्छन् – भत्ता आउँदै गर्ला, पहिला सङ्क्रमितको ज्यान बचाउँ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
अग्रपंक्तिमा खटिएकाहरु भन्छन् – भत्ता आउँदै गर्ला, पहिला सङ्क्रमितको ज्यान बचाउँ

स्वास्थ्यकर्मी सपना पहाडी विक सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना आइसोलेशनमा खटिएको एक वर्षभन्दा बढी भयो ।

अहिले आइसोलेशनको इन्चार्ज रहेकी विक त्यसअघि बबई नाकामा कार्यरत थिइन् । अहिलेसम्म कोभिड नियन्त्रणको अग्रपंक्तिमा खटिए पनि विकले प्रोत्साहन वापतको कुनै रकम पाएकी छैनन् ।

गत साउनदेखि उनले शुद्ध पारिश्रमिक बाहेक कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिए वापत पाउनुपर्ने जोखिम भत्ताह नपाएको बताइन । तर, पनि एक दिन पाइएला नि भन्ने आशामा उनले कोभिडका बिरामीहरुको उपचारमा संलग्न हुँदै आएकी छन् ।

भत्ता आउँदै गर्ला तर अहिले विरामीहरुको ज्यान बचाउनु नै ठूलो भएको उनको भनाइ छ । सुरुमा काम गर्न डर भए पनि अहिले कोभिडका विरामीहरुसँग कुनै डर नलाग्ने उनको भनाइ छ ।

उपचार गर्दा गर्दै आँखै अगाडि कोरोना सङ्क्रमितको मृत्यु देख्दा मन दरो बनाउनुपर्ने भन्दै विकले जे जस्तो अवस्था आए पनि आफ्नो सेवालाई निरन्तरता दिनुपर्ने उल्लेख गरिन ।

कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहरमा जोखिम बढी छ । यो रोगको कुनै औषधि नभएको भन्दै घरमा सुरक्षित बस्न, मास्क सेनिटाइजर प्रयोग गर्न, भीडभाडमा नजान उनले सुझाव दिइन ।

घरमै सुरक्षित बसे कोभिड नलाग्ने र उपचार पनि गर्न नपर्ने उनको भनाइ छ । यसैगरी कोभिड सङ्क्रमितहरुलाई अस्पताल ल्याउने लैजाने एम्बुलेन्स चालक दैलेखका डम्बरबहादुर गुरुङ पनि अग्रपंक्तिमा खटिएका छन् ।

गाउँगाउँबाट सङ्क्रमितहरुलाई एम्बुलेन्सबाट अस्पताल ल्याउनुपर्ने उनको दैनिकी हो । अग्रपंक्तिमा खटिने गुरुङले यातायात मजदुर जागरण सहकारी संस्थाको एम्बुलेन्स चलाउँछन् ।

निकै जोखिमपूर्ण काम गरेपनि उनलाई कुनै प्रोत्साहन र वीमा गरिएको छैन । गुरुङले जोखिममा काम गर्नेहरुलाई वीमा गरिदिएको भए हुने बताउँछन् । उनले दैनिक चारदेखि ६ जना सङ्क्रमितहरुलाई अस्पताल ल्याउने लैजाने गरेका छन् ।

सेवा सुविधा केही नभए पनि अप्ठ्यारो परेको बेला सेवा गर्न पाएकोमा आफूलाई आत्मसन्तुष्टि मिलेको उनको भनाइ छ । जोखिममा काम गर्ने सवैलाई प्रोत्साहन दिनुपर्ने सुझाव उनले दिए ।

यता प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले गत साउनदेखि कसैको पनि जोखिम भत्ता नआएको बताए । उनले प्रदेश सरकारलाई जोखिम भत्ताका लागि आग्रह गरिएको र सवैको एकै पटक आउने उल्लेख गरे । भत्ता नआए पनि आफूहरु सङ्क्रमितहरुको उपचारमा लागिरहेको उनको भनाइ छ ।