बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

औषधी पसलमा पारासिटामोल सहजै किन्न पाइँदैन किन ?

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
औषधी पसलमा पारासिटामोल सहजै किन्न पाइँदैन किन ?

काठमाडौं – 

कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा ती फर्मासिस्टले भनेझैँ बजारमा अहिले पारासिटामोलको माग धेरै छ। तर फार्मेसी पसलमा पारासिटामोल सहजै किन्न पाइँदैन। उनकै पसलमा पनि पारासिटामोल खोज्दै आउनेको संख्या विगतका समयमा भन्दाअहिले धेरै छ।

ती फर्मासिस्टको कुरा सुनेपछि हामीले बजारका अन्य फार्मेसीमा पनि पारासिटामोलको अवस्थाका बारेमा बुझेका थियौँ। सो क्रममा अधिकांशले पारासिटामोल सहज रुपमा धेरै बिक्री गर्न सक्ने अवस्था नभएको जानकारी दिए।

औषधि व्यवसायी, औषधि उत्पादक संघ र औषधि व्यवस्था विभागका प्रतिनिधिहरुले पनि बजारमा पारासिटामोलको चरम अभाव नभएपनि सहजै पाउन भने नसक्ने अवस्था रहेको स्वीकार गरे।

औषधि व्यवस्था विभागका अनुसार नेपालमा पारासिटामोल उत्पादनका लागि २६ वटा उद्योग दर्ता भएका छन्। तीमध्ये १६ वटा उद्योगले मात्र हाल पारासिटामोल उत्पादन गर्दै आएका छन्। ४६ वटा विदेशी कम्पनीले पारासिटामोल आयातका लागि अनुमति पाएका छन्। तर, पनि नेपालमा अहिले किन अभाव छ त?

औषधि व्यवसायीका अनुसार कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल तथा स्वास्थ्य संस्थासँगै बजारमा पारासिटामोल किन्नेको संख्या बढेका कारण सहज रुपमा पाउन समस्या भइरहेको हो। ‘एक त अस्पतालहरुमा विगतमा भन्दा धेरै खपत भइरहेको छ। अर्को तर्फ मानिसहरुले अनावश्यक रुपमा घरमा लगेर धेरै पारासिटामोल स्टक राखेका कारण पनि समस्या आएको हो,’ नेपाली उत्पादक र व्यवसायीहरुको साझा भनाई यस्तो छ।

नेपाल औषधि उत्पादक संघका अनुसार पहिले देशभर वर्षेनी पारासिटामोलको पाँच करोड ट्याब्लेट खपत हुन्थ्यो। तर हाल लकडाउन भएयताको ४० दिनको अवभिमा मात्र मात्र डेढ करोड बढी ट्याब्लेट खपत भइसकेको छ।

आफूहरुसँग स्टकमा भएको ३ करोड ७५ लाख पारासिटामोलमध्ये लकडाउन भएयता डेढ करोड बढी पारासिटामोल बजारमा गइसकेको संघका महासचिव विप्लव अधिकारी बताउँछन्। उनका अनुसार केही दिनमै ६० लाख ट्याब्लेट पारासिटामोल बजारमा लैजाने तयारी छ।

उनका अनुसार बजारमा पारासिटामोलको अभाव नै भइसहेको अवस्था भने छैन। तर केही स्थानमा सहज रुपमा पाउन समस्या भइरहेको भने उनी स्वीकार गर्छन।

भन्छन्, ‘पहिले वर्षेनी पाँच करोड पारासिटामोल खपत हुने गरेकोमा लकडाउन भएयता मात्र डेढ करोड जति बजारमा गइसकेको छ। यसबाट पनि बुझ्न सक्छौं, बजारमा अहिले पारासिटामोलको माग कति छ भनेर।’

कतिपयले हाल स्वदेशी उद्योगले मूल्य समायोजन गर्नुपर्ने भन्दै पारासिटामोल उत्पादनमा कटौती गर्दा अभाव भएको बताएका छन्। तर आफूहरुले उत्पादनमा कुनै कटौती नगरेको संघको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा पारासिटामोल बनाउने कच्चा पदार्थको मूल्य बढेपनि त्यसले अहिले नै असर नगर्ने बताउँदै उनी भन्छन्, ‘अहिले भएको मूल्य वृद्धिले एक÷डेढ महिनापछि असर गर्ने हो। हामीसँग स्टक हुन्छ। आज ल्याएर आज नै बनाउने भन्ने हुँदैन।’

अनियन्त्रित रुपमा औषधि सञ्जित गर्ने बानीलाई कम गर्न पनि फार्मेसी पसलहरुमा औषधि सकिएपछि मात्र उपलब्ध गराउन थालेको उनले बताए। धेरै मात्रामा पारासिटामोल उत्पादन गर्दा एक्सपायर भएर फर्काउनु पर्ने अवस्था पनि आउने गरेको उनी बताउँछन्।

‘एक त कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण घाटामा पारासिटामोल बनाउनु परेको छ’ उनले भने, ‘त्यसमाथि अत्याधिक मात्रामा बजार पठायो भने भोलि एक्सपायर भएर पनि हाम्रै गोदाममा आउने हो।’

अभाव भएर वा उत्पादन गर्न नसकेर भन्दा पनि यी दुवै कुरालाई सन्तुलन गर्न आफूहरुले बजारमा आवश्यकता अनुसार मात्र पारासिटामोल पठाउने गरेको उनको भनाई छ। अघिल्लो वर्ष पारासिटामोल, जिंक लगायत ३० प्रतिशत बढी औषधि एक्सपायर भएर उद्योगमै फर्किएको उनी सुनाउँछन्।

उनका अनुसार झापा, विराटनगर, नेपालगञ्ज लगायत सीमा नजिकका जिल्लामा भने पारासिटामोलको अभाव देखिएको छ। विभिन्न सीमा नाकाहरुबाट पारासिटामोल भारत तर्फ गइरहेको हो की भन्ने उनको आशंका छ।

बजारमा अहिले पारासिटामोल अभाव हुने अवस्था नरहेको उनले बताए। नेपालमा मात्र नभई भारतमा पनि पारासिटामोलको माग अत्यधिक भएकाले अभाव भएको उनले बताए।

समयानुसार औषधिको मूल्य समायोजन गर्नुपर्ने औषधि उत्पादकहरुको माग छ। मूल्य समायोजन नहुँदा औषधि उत्पादनमा समस्या हुने गरेको संघको भनाइ छ।

पारासिटामोल नपाए हामीसँग समन्वय गर्नुहोस्
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ बजारमा पारासिटामोलको अभाव नभई पाउन केही कठिन भएको बताउँछन्।

उनी भन्छन्, ‘झ्याप्पै पारासिटामोलको अभाव भने भएको छैन। तर २÷३ वटा पसलमा खोज्दा भने एउटामा पक्कै पाउँछ।’

पारासिटामोल नपाएको अवस्थामा नेपाल औषधि व्यवसायी संघसँग समन्वय गरे उपलब्ध गराउन सक्ने उनले बताए। उत्पादनभन्दा माग बढी भएकाले पनि पारासिटामोलको पाउन समस्या भइरहेको उनले बताए।

उनले भने, ‘हाहाकार नै भएको छैन। तर अलिअलि अभाव चाँही खड्किएको छ। पाउन त पाइरहेको छ। तर पहिलेभन्दा पाउन कठिन छ।’

पारासिटामोल सहज रुपमा उपलब्ध गराउनका लागि छलफल भइरहेको उनले जानकारी दिए।

पारासिटामोलको अभाव नै भएको छैन : औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागको भनाई पनि उस्तै छ। विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं सूचना अधिकारी सन्तोष केसी भन्छन्, ‘पारासिटामोलको अभाव नै त छैन। तर खोजे अनुसार सहज रुपमा भने पाइरहेको छैन।’

पारासिटामोलको सहज वितरणका लागि आफूहरु प्रतिवद्ध रहेको उनको भनाई छ। स्वदेशी औषधि उत्पादकहरुले हाल मूल्य समायोजनको माग समेत गरिरहेको उनी बताउँछन्। तर कोरोनाको महामारीको यो विषम परिस्थितिमा मूल्य समायोजन गर्न नसकिने उनको संकेत थियो।

‘अहिले पुरानो मूल्यमा पारासिटामोल दिन सकिदैन भन्ने स्वदेशी उत्पादकहरुको भनाई छ। उहाँहरुको कुरा स्वाभाविक हो’ उनले भने, ‘तर मूल्य बढाउने सही समय पनि होइन यो।’

मूल्य समायोजन गर्नुपर्ने आवश्यकता भएपनि अहिले सही समय नभएको विभागको भनाइ छ। पारासिटामोलको उपलब्धतालाई सहज बनाउन स्वदेशी उत्पादकहरुसँग सहजीकरणका लागि छलफल समेत भइरहेको उनले बताए। औषधिको उत्पादन, वितरण र मौज्दात सन्तुलन कायम गर्न विभागले निर्देशन समेत दिएको उनले जानकारी दिए।

पारासिटामोल र जीवनजल लगायत अत्यावश्यक औषधिको २०६४ सालमा मूल्य निर्धारण भएयता मूल्य समायोजन हुन सकेको छैन।

आयान हेल्थ केयर माग्यो ५ करोड पारासिटामोल ल्याउने अनुमति
आयान हेल्थ केयर प्रालिले बंगलादेशबाट पाँच करोड ट्याबलेट पारासिटामोल आयातका लागि औषधि व्यवस्था विभागसँग अनुमति मागेको छ। विभागबाट अनुमति पाए दुई साताभित्र पारासिटामोल नेपाल ल्याउन सक्ने आयानले जनाएको छ।

हालको बजार मूल्यभन्दा सस्तोमा पारासिटामोल उपलब्ध गराउन सक्ने उसको भनाई छ। आयान हेल्थ केयरले विभागमा पेश गरेको पत्र अनुसार उसले प्रतिट्याबलेट ९५ पैसामा उपलब्ध गराउन सक्ने भनेको छ।

यता विभागका सूचना अधिकारी केसीले भने आयान केयरले अनुमति मागेपनि हाल निर्णय भने भइसकेको जानकारी दिए।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलको कच्चा पदार्थको मूल्य वृद्धि भएका कारण अभाव भएको बताउँछन्। आयातकर्ताले पारासिटामोल आयात गर्न खोजे सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

‘अहिले बजारमा पारासिटामोल पाउन समस्या छ र कुनै आयातकर्ताले पारासिटामोल ल्याउन चाहन्छ भने सरकारले सहजीकरण गर्नुपर्छ’ उनले भने।

news source : swasthya khabar