बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

मूल्य वृद्धिका लागि सिटामोलको उत्पादन रोकियो, बजारमा कृतिम अभाव सिर्जना

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
मूल्य वृद्धिका लागि सिटामोलको उत्पादन रोकियो, बजारमा कृतिम अभाव सिर्जना

फार्मेसीमा सिटामोल औषाधिपाउन छाडेको एक महिनाभन्दा बढी भयो । पायो भने पनि मागेजति वा चाहेजति पाइँदैन । एकातिर कोरोना महामारीका कारण सिटामोलको माग बढिरहेको छ भने अर्कोतिर बजारमा औषधी नै पाइन छाडेको छ । त्यसको कारण हो, भारतबाट आयात हुने औषधीमा रोक तथा नेपाली उद्योगमा उत्पादन बन्द ।

४५ प्रतिशत बजार धानेको नेपाली औषाधि उत्पादकले यतिबेला मागअनुसार सिटामोल औषाधि बनाउन सकेका छैनन् । कोरोना महामारीको कारण देखाउँदै भारतले भने सिटामोल निर्यातमा रोक लगाएको छ ।

नेपाली औषाधि उत्पादक उद्योगले पनि घाटामा गइरहेको भन्दै उत्पादनमा कमी गर्दै आएका छन् । २०६४ सालमा सरकारले सिटामोलको मूल्य प्रति गोटा एक रुपैयाँ तोकेको थियो । अहिले पनि त्यही मूल्य नै राखिएको छ ।

सरकारले मूल्य तोक्दा कच्चा पदार्थको मूल्य प्रतिकिलो चार सय रुपैयाँ थियो । अहिले बढेर एक हजार पुगेको छ । उत्पादन लागत बढ्दै गएपनि सरकारले मुल्य समायोजना नगर्दा औषाधि उत्पादकहरू घाटाको व्यापार गर्दै आएका छन् ।

मूल्य बढाउन उत्पादन रोकियोः

नेपाल फार्मेसी संघका अध्यक्ष अमृत खनालले यस्तो महामारीको समयमा मौका छोपेर उत्पादन रोकिँदा बिरामी मर्का परेको भन्दै आफ्नो फाइदाका लागि यस्तो गर्नु गलत रहेको बताए ।

‘यस्तो महामारीको बेला यदि अभाव देखाउन सकियो भने आफ्नो माग पुरा हुन्छ भन्दै उनीहरूले उत्पादन रोकेका हुन्,’ अध्यक्ष खनालले भने, ‘मूल्य बढाउनु त ठीक कुरा हो । तर, यस्तो महामारीको बेलामा सुहाउँदो भएन ।’

अझै दुई(तीन महिनालाई धान्ने कच्चा पदार्थ उनीहरूसँग रहेको भन्दै सरकारलाई अप्ठ्यारो परेकै बेला मूल्य बढाउने बहाना खोज्नु गलत भएको जनाए ।

घाटाको उत्पादन गर्न सकिँदैनः

नेपाल औषाधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीका अनुसार भने उत्पादन पूर्ण रूपमा ठप्प भएको छैन । उनले पहिला नै ल्याएर राखेको कच्चा पदार्थको आधारमा केही उद्योगले उत्पादन गर्दै आएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । मूल्य समायोजन गर्न पटक(पटक माग गर्दै आएपनि सरकारले सुनुवाइ नगरेको उनको भनाइ छ ।

यससम्बन्धमा क्षेत्री भन्छन्, ‘हामीले अहिले उत्पादन नै रोकेका त छैनौँ । तर, नयाँ कच्चा पदार्थ लिएर बनाउन सकिने अवस्था भने छैन । अहिले केही उद्योगले पुरानै कच्चा पदार्थबाट उत्पादन गरिरहेका छन् ।’

नेपालमा अहिले ९-१० वटा कम्पनीले सिटामोल उत्पादन गर्दै आएका छन् । जसले नेपाली बजारको ४५ प्रतिशत माग धान्दै आएको छ । महामारीको समयमा उत्पादन पूर्ण रूपमा नरोकेको उनी बताउँछन् ।

क्षेत्रीका अनुसार प्रति गोटा सिटामोलको लागत नै डेढ रूपैयाँ पर्छ । तर, एक रूपैयाँमा बेच्दा उत्पादकले घाटा व्यहोर्नु परेको छ । मूल्य समायोजन हुन सकेन भने नयाँ मूल्यअनुसार कच्चा पदार्थ किनेर सिटामोल बनाउन सक्ने अवस्था रहेको छैन ।

अहिलेलाई दुई तीन हप्तालाई पुग्ने सिटामोल बनाएर बजारमा पठाइएको भन्दै अब पुरानै मूल्यमा सिटामोल बेच्न सक्ने अवस्थामा उत्पादक नरहेको श्रेष्ठले जानकारी दिए ।

औषाधि उत्पादक संघले मूल्य समायोजनका लागि औषाधि व्यवस्था विभागलाई पटक(पटक पत्र पठाए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘सरकारसँग पटक पटक मूल्य समायोजनको माग गर्दै आएका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन’, उनी भन्छन्,‘मूल्य समायोजन गर्न सरकार पनि तयार छ । तर, किन ढिलाइ गरिरहेको छ, त्यो हाम्रो जानकारीमा छैन ।’

उत्पादक संघका अध्यक्ष क्षेत्रीले भने मानवीय नाताको दृष्टिकोणले भएपनि घाटा खाएर पनि उत्पादन भने नरोकिएको बताए । ‘पहिलाको तुलनामा उत्पादन कम भएको छ ।

यही बेला माग फेरि २(३ गुणा बढेको छ । पुरानै कच्चापदार्थबाटै उत्पादन गरिरहेका छौँ । नयाँ ल्याएर उत्पादन गरेर बजार पठाउन सकिने अवस्था भने छैन’,अध्यक्ष क्षेत्रीले भने ।

औषाधि लिमिटेडले दैनिक ३ लाख ट्याबलेट बनाउँदै

सिटामोल उत्पादन गर्ने सरकारी निकाय नेपाल औषाधि लिमिटेडले दैनिक ३ लाख ट्याबलेट सिटामोल उत्पादन गर्दै आएको छ । लिमिटेडले घाटामा भए पनि उत्पादन भने रोकेको छैन ।

लिमिटेडका सूचना अधिकारी टिकाराम अर्यालले उत्पादन नरोकिएको बारेमा भन्छन् ‘विश्वबजारमा अहिले कच्चा पदार्थको मूल्य चार गुणा भन्दा बढीले बढेको छ । यो क्रम रोकिएको छैन। तर, पनि हामीले आफ्नो उत्पादन भने रोकेका छैनौँ ।’

अर्यालका अनुसार लिमिटेडले उत्पादन गर्ने सिटामोलले नेपाली बजारको लगभग १० प्रतिशत हिस्सा ओगटेको छ । अहिले स्टकमा रहेको कच्चापदार्थबाट उत्पादन जारी रहेको र थप कच्चा पदार्थ भारतबाट ल्याउन पहल गरिरहेको छ ।

घाटा छ भनेर उत्पादन नै रोक्न नमिल्ने बारेमा उनी भन्छन्, ‘निजी कम्पनीले अहिले उत्पादन नै बन्द गरेका छन् । त्यसैले हाम्रोमा मात्र माग बढेको छ । हामीले घाटा भए पनि उत्पादनलाई भने निरन्तरता दिइरहेका छौँ । उत्पादन नै रोक्न मिल्दैन ।’

औषाधि व्यवस्था विभागले भने उनीहरूको माग जायज रहेको भन्दै त्यसप्रति सकारात्मक रहेको बताएको छ । विभागका महानिर्देशक भरत भट्टराईले मूल्य समायोजन गर्ने विषयमा विभागले तयारी गरिरहेको जनाए ।

उनीहरूको माग सम्बोधनका विषयमा विभाग सकारात्मक रहेको भन्दै विभागले आन्तरिक तयारी गरिरहेको जानकारी दिए ।