वि. सं. २०७८ असार ३ गते, बिहीवार

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, यस्तो छ प्रदेशसभाको गणित

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, यस्तो छ प्रदेशसभाको गणित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिदैं छन् । बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्टै मत खसाल्ने व्यवस्था गरिएको धामीले जानकारी दिए ।

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

अहिले सरकारलाई समर्थन जारी राखेको एमाले माधव पक्षको साथ पाउनेमा मुख्यमन्त्री भट्ट विश्वस्त छन् । हाल प्रदेशसभामा सभामुखबाहेक २४ जना सदस्य रहेको एमालेमा माधव पक्षमा १५ जना रहेका छन् । ओली पक्षमा ६ जना छन् । बाँकी तीन जना अहिले तटस्थ बसेका छन् ।

यसअघि माधव समूहमा रहेका सांसद तारा लामा तामाङ, कुलवीर चौधरी र बलदेव रेग्मी मन्त्रिमण्डल विस्तार भएयता असन्तुष्ट रहँदै तटस्थ बसेका हुन् ।
उनीहरु माधव पक्ष र ओली पक्ष कुनैमा पनि खुलेको अवस्था छैन । यद्यपी ओली पक्षले तीन जना सांसद आफूतिर आएको दाबी गरिरहेका छन् ।

तीन जना तटस्थ वा ओली खेमा लागे पनि माधव पक्षका १५ जनाको साथ पाएको खण्डमा मुख्यमन्त्री भट्टको पद जोगिने देखिन्छ ।

जम्मा ५२ सदस्यीय प्रदेशसभा सरकार गठनका लागि २७ सांसद पुग्नुपर्छ । यो समीकरण पूरा गर्न माधव पक्षका १५ र माओवादी केन्द्रका १३ गरी २८ जना सांसद पुग्छन् । यसरी सरकारलाई विश्वासको मत प्राप्त हुन्छ ।

जनता समाजवादी पार्टीका दुई जना सांसद केन्द्रमा तत्कालीन राजपा पक्षका हुन् । केन्द्रमा सरकारलाई समर्थन गरेकाले यहाँ पनि सोहीअनुसार निर्णय हुनसक्ने देखिएको छ ।

एमाले संसदीय दलले यही जेठ १२ गते प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरिसकेको छ । ‘प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरिसकेका छौँ,’ नेपाल पक्षका एक सांसदले भने । पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको अवस्थामा ओली पक्षका सांसदले सरकारलाई समर्थन नदिने निश्चित छ ।

केन्द्रमा ओली सरकारविरुद्ध माओवादी केन्द्र, एमाले माधव पक्ष र कांग्रेसको समीकरण देखिएकाले यहाँ पनि कांग्रेसले सरकारलाई समर्थन गर्ने देखिन्छ । प्रदेशमा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस अहिले प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले बैठक बसीरहेको छ ।

कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले अहिले बस्ने बैठकले मुख्यमन्त्रीको पक्ष वा विपक्षमा मत गर्ने विषयमा निर्णय हुने बताए । कांग्रेसले पनि समर्थन जनाएको खण्डमा प्रदेश सरकार झण्डै दुई तिहाईको बन्नेछ ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेको निर्देशन

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन निर्देशन दिएको छ । सोमबार पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले एमालेका सबै प्रदेशसभा सदस्यहरुलाई निर्देशनात्मक पत्र बुझाउँदै विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

प्रदेश कमिटीले दलका नेता प्रकाश बहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पनि पत्र लेखी पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशनसमेत दिएका छन् ।

१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको १२ जेठमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि मुख्यमन्त्री भट्टले सरकारमा रहेका एमालेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर एमालेकै ४ मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरु सबै एमालेको नेपाल पक्षका हुन् ।

स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले ओलीलाई स्पष्टीकरणको जवाफ पेश गरिसकेका छन् ।